बाबु बेपत्ता भएको १२ वर्षपछि छोरा बेपत्ता भए>>हेर्नुहोस

असार;१३
छिमेकीका छोराले आमा भनेर बोलाउँदा कुस्मा नगरपालिका १३ कटुवाचौपारीकी मञ्जु लामिछाने बारम्बार झस्किन्छिन् ।

१५ दिन अघिदेखि हराएको १२ वर्षीय छोराको रन्कोले सताइरहेको छ उनलाई । छोरा खोज्न कै लागि न दिनमा भोक न रातमा निद्रा भएको छ ।

कुनै पर्वाह  नगरी कहिले प्रहरी कार्यालय, कहिले आफन्त, इष्टमित्र त कहिले ज्योतिषकोमा धाउँदा धाउँदै उनको दिनचर्या वित्दै गएको छ । वर्षायामको समय सबै छिमेकीहरु खेतीपातीमा जाँदा मञ्जु भने छोराको खोजिमा भौतिरिन बाध्य भएकी छिन् ।

गत जेठ २८ गते बिहान ५ बजेबाट मञ्जुको कान्छो छोरा विमल लामिछोने (सुगम) बेखबर छन् । स्थानीय सार्वजानिक मावि कक्षा ७ मा अध्ययनरत सुगम घरमा कुनै खबर नै नगरी घरबाट बाहिरिएका हुन् ।

उनी १५ औं दिन सम्म सम्पर्कमा आउन सकेका छैनन् । मञ्जुले जन्म दिएका ३ छोरा मध्ये वेपत्ता सुगम कान्छो छोरा हुन् । उनका माइला दाजु प्रकाशले पढ्न भनी बेलाबेला हप्काइधप्काई गर्ने गरेको र सोही कारणले घर छोडेर हिँडेको परिवारको शंका छ । विद्यालयका प्रधानध्यापक चन्द्रशेखर उपाध्यायका अनुसार सुगम पढाइमा मध्यम मानिन्थे ।

‘पढाई भन्दा धार्मिक क्रियाकलापमा बढी उनले चासो दिन्थे’ प्रधानाध्याक उपाध्यायले भने ‘पढाईमा मध्यम भएपनि विद्यालयको इमान्दार छात्र मध्ये सुगम एउटा थियो’

सुगमकी आमा मञ्जुले समेत भजनकिर्तनमा बढी चासो दिने गरेको सुनाइन् ‘भजनकिर्तनमा नाँच्न भनेपछि जहाँ पनि पुग्थ्यो’ उनले भावविह्वल हुँदै भनिन् ‘कहिले काँही त नाचेरै भएपनि ५ देखि ६ हजार रुपैयाँ सम्म (पैसा) लिएर आउँथ्यो’ सुगमकी आमा मञ्जु त्यही शंकामा पर्वत सदरमुकाम कुस्माबजार र आसपासमा भएका विभिन्न धार्मिक स्थलमा समेत छोरो खोज्दै पुगेको बताउँदै कतै अत्तोपत्तो नलागेको बताइन् ।

सुगमका बाबु शिव लामिछाने समेत सुगम गर्भमा नै रहँदाको समयमा वेपत्ता बनेका थिए । छिमेकी शहर पोखरामा आफन्त भेट्न जान्छु भन्दै विदा भएका लामिछाने १२ वर्ष सम्म घर फर्केका छैनन् । उनी पनि बेखबर नै छन् । एकातिर श्रीमान् वर्षौदेखि वेपत्ताको पीडा अर्को तर्फ २०७२ साल वैशाख १२ को विनाशकारी भूकम्पको पीडा त्यसै माथि छोरा वेपत्ता ।

मञ्जुलाई अहिले पिरै माथि पिर थपिएको छ । ‘कोही कोहीलाई त दैबले पनि कति सम्म पार्दो रैछ’ हातमा लिएको झाडनले आँशु पुच्छ्दै मञ्जु आफ्नो पीडा सुनाउँछिन् ‘श्रीमान्को त अब आश थिएन, छोराहरु गरी खाने भइसकेकै थिए, भूकम्पले दुई तले घर छाप्रोमा बदलिदियो, अहिले छोरा बेखबर बन्यो’ साँच्चिकै अहिले मञ्जुलाई पीडा र वेदनाको पोको बोकिनसक्नु भएको छ ।

स्थानीय समाजसेवी रामशर्मा पौडेलले समेत सुगमलाई गाउँको इमान्दार केटाको रुपमा लिन्छन् । ‘केटो साह्रै भलाद्मी थियो, धार्मिक आस्थामा बढी रुची राख्थ्यो, अन्यथा सोच्ने जस्तो थिएन पक्कै पनि कुनै ठाउँमा छ फर्केर आउँछ’

वेपत्ता सुगमको बारेमा आमा मञ्जुले भोलिपल्टै प्रहरी समक्ष जानकारी गराएपछि प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रले समेत खोजतलास कार्यलाई तीब्रता दिएको छ । केन्द्र प्रमुख प्रहरी सहायक निरीक्षक पूर्णिमा थापाले मातहतका प्रहरी पोष्ट लगायत अञ्चल प्रहरी र केन्द्रमा समेत खोजतलासका लागि सबै विवरण सहितको पत्राचार गरिसकिएको बताइन् ।

अहिले सुगम घरबाट निस्किएको १५ औँ दिनसम्म सम्पर्कमा नआएपछि उनको परिवार सँगै विद्यालय र छर छिमेकीहरु समेत विलखबन्दमा परेका छन् ।

स्रोत;समाधान न्युज 

,

0 comments

Write Down Your Responses