रुक्मांगत कटवालबारे अर्काे सनसनीपूर्ण खुलासा, झण्डै ८ वर्षपछि बोले खड्का
काठमाडौं, ७ वैशाख । एमाओवादीका अध्यक्ष एवं तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ठाडो चुनौति दिएका पूर्व प्रधानसेनापति रुक्मांगत कटवालबारे अर्काे सनसनीपूर्ण खुलासा भएको छ ।
कटवालपछिका तत्कालिन सेनापति छत्रमान सिह गुरुङले केही दिनअघि मात्र आफ्नो पुस्तक ‘जनताको छोरो’ सार्वजनिक गरेर कटवालले आफ्नो पदावधि थप्न शक्ति केन्द्र धाएको खुलासा गरेका थिए ।
उनले यस्तो खुलासा गरेको सातादिन नबित्दै कटवालपछि प्रधानसेनापति बन्ने लाइनमा रहेर पनि अवकाश पाएका रथी कुलबहादुर खड्काले कटवालको अर्काे गोप्य कुरा खोलिदिएका छन् ।
‘कटवाल प्रकरण’को झण्डै ८ वर्षपछि मुख खोलेका खड्काले कटवाललाई भारतका तात्कालिन अर्थमन्त्री तथा हालका राष्ट्रपति प्रणव मूखर्जीले नेपालका राष्ट्रपति रामवरण यादवलाई फोन गरेर ‘कटवाल हमरा सेनापति हे’ भनेको दाबी गरेका छन् ।
आफूलाई बर्खास्त गर्न खोज्दा प्रचण्डलाई नै राजीनामा दिन बाध्य पारेका कटवालले कामु प्रधानसेनापति भएर सेनापति बन्नै लागेका खड्कालाई घर पठाएका थिए ।
कटवालको शक्तिले प्रधानसेनापति बन्न नपाएका उनै खड्काले आफ्नो एक अन्तर्वार्तामा तत्कालिन भारतीय सेनापति दीपक कपुरले पनि कटवाल थमौतिमा भूमिका खेलेको दाबी गरेका हुन् । साथै उनले राष्ट्रपतिले सरकारले अवकास दिएर घरमा बसेको एक सिविलियनलाई सेनापति बनाएर रकमी र किर्ते काम गरेको समेत बताएका छन् ।
उनले आफूलाई प्रधानसेनापति बन्दैछौ भनेर एमाले महासचिव इश्वर पोखरेल र उपाध्यक्ष वामदेव गौतमले जानकारी गराएको र आफूले प्रचण्डलाई कहिल्यै नभनेको दाबी गरेका छन् ।


0 comments
Write Down Your Responses