कसको विस्वास गर्ने: अनुगमनमा जाने सांसदकै नाममा कालोबजारीको ग्यास भेटिएपछि हेर्नुहोस्
काठमाडौं – बालाजुस्थित नेपाल ग्यास उद्योगबाट उद्योग वाणिज्य महासंघ पूर्वअध्यक्ष चण्डीप्रसाद ढकालको नाममा सिलिन्डर ग्यास लैजाँदै गरेको फेलापारेपछि व्यवस्थापिकाको सुशासन तथा अनुगमन समितिसम्बद्ध सांसद रिसले आगो भएका छन् ।
‘जनताको घरमा ग्यास छैन, उद्योगको गेटमा महिना दिनदेखि ग्यास मागिरहेकाले ग्यास पाइरहेका छैनन् । तर, ठूलाबडालाई उद्योगबाटै ग्यास दिने,’ सांसद ध्यानगोविन्द रञ्जितले भने, ‘उद्योगबाटै पहुँचवालालाई ग्यास बिक्री गर्नेलाई कारबाही हुनुपर्छ ।’ तर, उद्योगका बजार व्यवस्थापक राजेन्द्र दंगालले सांसदहरूकै नाममा ग्यास गएको बताउँदा सांसद रञ्जित अक्क न बक्क परेका थिए । ‘सिफारिस गरेर आएपछि मैले दिन्न भन्न मिलेन, सांसदज्यू,’ नेपाल ग्यास बजार व्यवस्थापक दंगालले भने, ‘हजुरकै नाममा पनि मैले ग्यास दिएको छु ।’ प्रतिउत्तरमा रञ्जित आफूले ग्यास नलगेको दाबी गरेका छन् ।
उद्योग वाणिज्य महासंघपूर्व अध्यक्ष ढकालको नाममा नेपाल ग्याँस उद्योगले बा ३ च २२०९ नम्बरको निजी गाडीमा ग्यास पठाउन लागेको थियो । उक्त ग्यास ढकालको रेष्टुरेन्टमा लैजान लागेको सांसदहरूले बताए ।
घटनापछि ग्यासमा कालोबजारी गर्न उद्योगीलाई ठूलाबडाले नै संरक्षण गरेको खुलेको छ । ठूलाबडाले उद्योगबाटै गाडीमा सिलिन्डर ल्याउन पल्केपछि ग्यासको कालोबजारीप्रति आँखा चिम्लेको खुलेको हो । मन्त्रालय, राजनीतिक दल, सभासद्, सकारी कार्यालय र उद्योगीले आफूले उद्योगबाटै ग्यास उठाउने गरेको दंगालले बताए । मन्त्रालय, आयल निगम, सांसद, सुरक्षा निकाय र उद्योगीबाट दिनहुँ सिफारिस आउने गरेको उनले सुनाए ।
आपूर्ति मन्त्रालय र आयल निगमबाट सिफारिस
उनकोमात्रै होइन, आपूर्ति मन्त्रालयले मात्रै एउटा ग्यास उद्योगमा एक दिनमा ४०/५० वटासम्म ग्यास सिलिन्डरका लागि सिफारिस पर्ने गरेको फेलापरेको छ । आपूर्ति मन्त्रालयले चैत २९ गते नेपाल ग्यासमा ४४ जनाका लागि ग्यास सिफारिस पठाएको थियो । (हेर्नुहोस् नाम) । यसरी व्यक्तिको नाममा उद्योगबाटै ग्यास वितरण हुने गरेकाले उनीहरूले कालोबजारीको विषयमा कुरा नउठाउने गरेको पुष्टि भएको हो ।
सरकारको समेत स्वामित्व रहेको साल्ट टे«ेडिङ कर्पोरेसनमा पनि आपूर्ति मन्त्रालय दैनिक २५ वटासम्म ग्यासका लागि सिफारिस पठाउने गरेको छ । ‘मन्त्रालयबाट मन्त्रीज्यू, कर्मचारी, सांसद, सुरक्षाकर्मीलाई भनेर दैनिक २५ सम्मको सिफारिस आउने गरेको छ,’ साल्ट ट्रेडिङ कर्पोरेसन प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले भनिन् ।
ग्यास नै नमागे पनि घर–घरमा पु¥याइदिन्छन् उद्योगी
पहुँचवालालाई खुसी पार्न उद्योग र बिक्रेताले नै उनीहरूलाई ग्यास पुर्याउने गरेको पनि सांसदहरूले बताएका छन् । संकटको बेला कालोबजारी गरिरहेका उद्योगी तथा बिक्रेताले खुसी पार्नका लागि पहुँचमा हुनेका घर–घरमा ग्यास पुर्याइदिने गरेको खुलाएका हुन् । ‘मेरो गाउँमा एक उद्योगीले एक हजार पाँच सय ग्यास सिलिन्डर पुर्याएर गाउँभरि वितरण गरिदियो, अर्को एक बिक्रेताले रञ्जित त ग्यासै लिन आएनन् भनेर घरमै ग्यास पठाइदियो,’ सांसद रञ्जितले भने म एकपटक अनुगमनमा निस्केको बेला देखेको आधारमा उसले मलाई त्यसरी ग्यास दियो ।’
सिफारिसमा ग्यास नपाए बल्ल कारबाहीको कुरा उठाउँछन्
अनुगमनका लागि भन्दै साल्ट ट्रेडिङ पुगेका नेपाल मानवअधिकार परिषद् काठमाडाँै संयोजक तुल्सी थापाले संसदीय समितिको अनुगमन टोलीसँग साल्ट ट्रेडिङले उपभोक्तालाई लाममा लागे पनि नदिएर कालोबजारी गरेको भनेर कुरा लगाए । तर, साल्ट टे«ेडिङ सञ्चार संयोजक ब्रजेश झाले आफूले लाइन नबसी ग्यास नपाएको थापाले रिस पोखेको भन्दै सार्वजनिक रूपमै बेइज्जत गरे । ‘उहाँले ग्यास माग्न आउनुभएको थियो, हामीले तपाईंको संस्थाको सिफारिस ल्याउनुस् भने पनि उहाँले मान्नुभएन । त्यसो भए ग्यास पाउनुहुन्न भनेपछि सिफारिस त ल्याउनुभयो तर दुई÷चार दिनपछि आउनुहोस् भन्दा मलाई तत्कालै चाहिन्छ भन्न थाल्नुभयो,’ झाले भने, ‘त्यही ग्यास नपाएपछि उहाँले विरोध गर्दै हिँड्नुभएको हो ।’ झाको भनाइपछि थापा चुप लागेर बसे ।
थापाले जस्तै धेरै पहुँचवालाले ग्यास उद्योगी र बिक्रेतासँग आफूले ग्यास माग्ने र नदिएमा कारबाहीको धम्की दिने गरेको ग्यास उद्योगीको गुनासो छ । धेरैजसो सुरक्षा निकाय, पत्रकार र अधिकारकर्मीले धम्की दिने गरेको उनीहरूले बताए ।
कार्ड लागू नगरेसम्म समस्या समाधान हुँदैन
ग्यास उद्योगबाट सिधै व्यावसायीक घराना र पहुँचवालाकोमा ग्यास जाने समस्या समाधान गर्न ग्यास कार्ड लागू गर्नुपर्ने बिक्रेताको माग छ । सरकारले पटक–पटक कार्ड लागू गर्ने भने पनि ढिलाइ गरेका कारण सर्वसाधारणले नपाउने र पहुँच हुनेकहाँ मात्र पुग्ने गरेको बिक्रेता महासंघ महासचिव चन्द्र थापाले बताए । ‘एकातिर जसले पनि ग्यास भएन भनेर फोन गर्छन्, अर्कोतिर उपभोक्ताको प्रेसर थेग्न हम्मेहम्मे,’ उनले भने, ‘कार्ड सिष्टम लागू भयो भने त रेकर्डअनुसार मात्रै लैजान्थ्यो, अनावश्यक दबाब हुँदैनथ्यो ।’
उनले कतिले महिना दिनमा तीनवटा पनि लैजाने, कतिले तीन महिनामा एउटा पनि नपाउने समस्या भएकाले समाधानका लागि ग्यास कारोबारलाई एउटै सफ्टवेयर लागू गर्नुपर्ने बताए । उनले कतिपय कम्पनीले नयाँ डिलर नियुक्ति गरेर पुरानो डिलर र खाली सिलिन्डर नदिने परिपाटीले समस्या भएको बताए । ‘पहिला भएका खाली सिलिन्डर भरेरमात्र नयाँ डिलर खोल्न अनुमति दिनुपर्ने तर त्यसो नगरेर नयाँ–नयाँ डिलर खोलेपछि समस्या छ,’ उनले भने ।


0 comments
Write Down Your Responses